नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं बाषिर्क उत्सब कार्यक्रम सम्पन्न

१३ फेब्रुबरी, २०१०जोर्डन, हङकङ स्थित याक एण्ड यति रेष्टुरेन्टमा नेपाली साहित्य प्रतिष्ठान हङकङले आफ्नो दशौं बार्षिक उत्सब कार्यक्रम भव्यताका साथ सम्पन्न गरेकोछ । प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न सो उत्सव समारोहमा नेपालबाट आउनु भएका बरिष्ठ समालोचक, प्राज्ञ, प्राध्यापक डा. गोविन्दराज भट्टरार्इ प्रमुख अतिथी, भाषाबिद् एबं समालोचक प्राध्यापक डा. टंक प्रसाद न्यौपाने र विशेष अतिथी साथै पत्रकार एबं कथाकार प्रदिप मेन्याङ्गबो अतिथीमा रहनु भएको थियो । भयबादी लेखक देश सुब्बाले स्वागत मन्तब्य दिनुका साथै डि.बी पालुङ्गवा, दिल पालुङ्गवा र बिमल रार्इले पालै पालो कार्यक्रम संचालन गर्नु भएको थियो । तीन चरणमा सम्पन्न भएको सो कार्यक्रमको प्रथम चरणमा प्रतिष्ठानले प्रकाशित गरेको स्मारिकाको बिमोचन गरिनुका साथै हङकङका तेह्र जना श्रष्टाहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो । दोश्रो चरणमा अतिथिहरु भट्टरार्इ र न्यौपानेले आफ्नो बिचार पत्र प्रस्तुत गर्नु भएको थियो भनेे प्रदीप मेन्याङ्गबोले मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यसैगरि तेश्रो चरणको कार्यक्रममा कविहरुले कविता तथा गजलहरु बाचन गरेका थिए । सम्मान सहित कदर पत्र पाउने श्रष्टाहरुमा कवि हांगयुग अज्ञात, कवि नरेस सुनुवार, कथाकार, कवि तथा गितकार प्रदिप कन्दङ्गवा, कथाकार एवं पत्रकार प्रकाश केसी, कवि भोगेन एक्ले, कवि तथा गजलकार अशोक रार्इ, कवियत्री दिपा एवार्इ, गितकार तथा उपन्यासकार राम कृष्ण बान्तावा, कथाकार एबं पत्रकार चन्द्र दूमी रार्इ, कवि प्रकाश छाङ्गछा, नियात्राकार नरजित रार्इ, गितकार एबं गजलकार महेश रार्इ, कथाकार मालिकराम रार्इ र कवियत्री एबं लेखिका हिमकला रार्इ रहनु भएको थियो । तेश्रो चरणको कार्यक्रममा कविता एबं गजल बाचन गर्नु हुने कवि तथा गजलकारहरुमा कमल पौडेल, नेरश सुनुवार, मोति चाम्लिङ्ग, भोगेन एक्ले, अशोक रार्इ, प्रकाश छाङ्गछा, देबेन्द्र खेरेश, प्रदिप मेन्याङ्गबो, डि. बी पालुङ्गवा, चन्द्र मादेन, होली गुरुङ्ग, इप्सुल मगर र बिष्णु पाख्रीन थिए । देबेन्द्र खेरेश र बिष्णु पाख्रीनको कविता अरुले पढेर सुनाएका थिए । कार्यक्रममा बिचार पत्रको माध्यमबाट प्रमुख अतिथि गोबिन्दराज भट्टरार्इले हङकङ नेपाली प्रतिष्ठानले दश बर्षा गरेको कार्यको प्रशंसा गर्नु भयो । वहाले हङकङको साहित्य र साहित्यकारहरुको चर्चा गर्दै उनीहरुले नेपाली साहित्यमा दिदै आएको योगदानलाई उच्च मूल्याङ्कन गर्नुका साथै यहाबाट प्रादुर्भाव भएको भयबाद दर्शन र समुच्च बिचारको बिशेष चर्चा गर्नुभयो । यसै क्रममा भट्टर्राईले यहाको डायस्पोरीक साहित्यले लेख्ने एक एक शब्दहरुको भोलि सम्मान हुने बिश्वास ब्यक्त गर्नु भयो । त्यसै गरि अर्का अतिथि टंक न्यौपानेले हङकङका साहित्यकारले मूलत नेपाली माटो अनि आफूले भोग्दै आएको दुःखलाई साहित्यमा स्थान दिएकोले हङकङेली साहित्य बिशिष्ट रहेको भन्दै यहाका साहित्यकारले नेपाली साहित्यमा भएको अभावको पूर्ति गरेकोले उनीहरुलाई न्यानो सम्मानको खाचो रहेको कुरा ब्यक्त गर्नुभयो । प्रदिप मेन्याङ्गवोले दुइ सय पचास बर्षो नेपाली साहित्यको इतिहास भन्दा दश बर्षे हङकङेली नेपाली साहित्यको इतिहास गौरबमय रहेको बताउनु भयो । कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बूलाई पनि बिशेष अतिथिको रुपमा आसन ग्रहण गराइएको थियो । बिभिन्न संघ सस्थाका प्रतिनिधी, पत्रकार, फोटो पत्रकार तथा अन्य लेखकहरुको समेत कार्यक्रममा उपस्थिती रहेको थियो ।

Category: 0 comments

हङकङमा नेपाली साहित्य विषायक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सन्२०१० फेव्रुवरी १५ तारीखका दिन हङकङ स्थित कंघन रेष्टुरेन्टमा नेपाली साहित्य प्रतिष्ठान हङकङद्वारा आयोजित हङकङमा नेपाली साहित्य विषायक अन्तर्क्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भयो। उक्त अवशरमा नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं वार्षिकोत्सवमा सहभागी हुन आउँनु भएका बरिष्ठ समालोचक प्राज्ञ तथा समालोचक प्रा.डा.गोविन्दराज भट्टरार्इ प्रमुख अतिथी तथा धरानबाट आउँनु भएका भाषाशास्त्री प्रा.डा.टंक प्रसाद न्यौपाने विशेष अतिथी र साहित्यकार तथा पत्रकार प्रदीप सेमी मेन्याङवो र समुच्च विचारका प्रवर्तक तथा कवियत्री दीपा एवार्इ रार्इ अतिथीको रुपमा सहभागी हुनुहुन्थ्यो । उक्त अन्तर्क्रिया कार्यक्रममा प्राज्ञ तथा प्रा.डा.गोविन्दराज भट्टरार्इले उत्तरआधुनिकता एक नयाँ विश्वपरिस्थितीमा नेपाली चेतनाको सन्दर्भ शिर्षकको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। हङकङमा नेपाली साहित्य र प्रा.डा.भट्टरार्इको कार्यपत्र माथी भाषाशास्त्री प्रा.डा.न्यौपानेले टिकाटिप्पणी गर्नु भएको थियो। साहित्यकार तथा पत्रकार मेन्याङवोले हङकङमा नेपाली साहित्यले अत्यान्तै चाँडो फड्को मारेको देख्दा आफुलाई गौरव लागेको कुरा वताउँनु भयो साथै समुच्च विचारका प्रवर्तक तथा कवियत्री दीपा एवार्इ रार्इले समुच्च विचार सम्वन्धि व्याख्या गर्नुभएको थियो । अन्तर्क्रिया कार्यक्रमको दौरानमा बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा र कवियत्री इप्सुल मगरले कविता वाचन गर्नुभएको थियो ।प्राज्ञ तथा समालोचक प्रा.डा.गोविन्दराज भट्टरार्इको कार्यपत्रमा जिज्ञासा उठाउँदै कथाकार प्रदीप कन्दङवा,कवि किराँती भोगेन एक्ले,संगीतकार दिनेश सुब्बा लगायतले उत्तरआधुनिक साहित्य लेखनमा आफुलाई लागेका प्रश्न राख्नु भएको थियो । वहाँहरुको जिज्ञास मेटाउँने क्रममा प्राज्ञ तथा समालोचक प्रा.डा.भट्टरार्इ र भाषाशास्त्री प्रा.डा.न्यौपाने दुवैले पालैपालो विभिन्न विचारहरु पेश गर्नु भएको थियो । सो हङकङमा नेपाली साहित्य विषायक अन्तर्क्रिया कार्यक्रमको सञ्चालन नेपाली साहित्य प्रतिष्ठान हङकङका सदस्य देश सुब्बाले र स्वागत मन्तव्य सदस्य डि.वि.पालुङवाले दिनु भएको थियो ।अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्वाहाम्फेले गर्नु भएको थियो ।

Category: 0 comments

प्रा.डा.गोविन्दराज भट्टरार्इसंगको साहित्य वार्ता

प्रा.डा.गोविन्दराज भट्टरार्इसंगको साहित्य वार्ता १

प्रा.डा.गोविन्दराज भट्टरार्इसंगको साहित्य वार्ता २

प्रा.डा.गोविन्दराज भट्टरार्इसंगको साहित्य वार्ता ३

प्रा.डा.गोविन्दराज भट्टरार्इसंगको साहित्य वार्ता ४

प्रा.डा.गोविन्दराज भट्टरार्इसंगको साहित्य वार्ता ५

Category: 0 comments

नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं बार्षिकोत्सव

नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं बार्षिकोत्सव १

नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं बार्षिकोत्सव २

नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं बार्षिकोत्सव ३

नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं बार्षिकोत्सव ४

नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं बार्षिकोत्सव ५

Category: 0 comments

हङकङेली नेपाली भाषा र साहित्य

प्रा.डा. टङ्कप्रसाद न्यौपाने
महेन्द्र बहुमुखी क्याम्पस, धरान

अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ । हरेक समाजमा शुद्धतावाद प्रतिगामी हुन्छ, यसले पुरातनमार्गतिर मानवीय सभ्यतालाई तान्दै अग्रगमनतिर जान रोक्छ । विविधता नै प्रकृति हो। सयौँ किसिमका चराचुरुङ्गीहरूका कलरवले, रङ्गीचङ्गी वनकुसुमले नै वनजङ्गलको छटा आच्छादित हुन्छ । उन्नत समाजको प्रकृति पनि विषमरूपी हुन्छ । यहाँ बाहुन, छेत्री, लिम्बू, राई, मगर, नेवार, सुनुवार, तामाङ जस्ता सयौं थुङ्गाबाट नेपाली समाजको माला बुनिएको छ । यी सबैको आफ्नो पहिचान हुँदाहुँदै पनि यिनीहरूका समष्टिबाट एउटा देश बन्छ, नेपाल बन्छ, बनेको छ । नेपाली आफैंमा एउटा मौलिकपन हो । जहाँ विभिन्न जात, जाति, जनजाति, रहन्छन्, त्यहीं नेपाली मौलिक परिचयले बाँचेका हुन्छन् । यस्तै बहुलवाद र बहुकेन्द्रबाट देशको निर्माण हुन्छ । हङकङेली नेपाली समाज पनि लाग्दछ, नेपाल जस्तै बहुजाति, बहुसंस्कृति र बहुभाषाबाट बनेको एउटा विषमरूपी समाज हो । यहाँ आएर पनि यी सबै जात-जाति-जनजातिले स्वपहिचानसहित नेपाली भाषा र संस्कृतिलई विकसित गर्दै जानामा यस्तै विविधताभित्रको मनःसांस्कृतिक एकत्वको भूमिका देखिएको छ । यस्तै बानी साहित्यबाट मुखरित हुन थालेको छ र समाचारबाट बोलिरहेको छ । भनौं, सबै किसिमका श्रव्यदृश्य सिर्जनाबाट अभिव्यक्त भएको छ । हामी हाँस्छौं नेपालीमा, रुन्छौं नेपालीमा, सपना देख्छौं नेपालीमा, गाली गर्र्छौ नेपालीमा र कल्पन्छौं नेपालीमा नै । म हङकङमा त्यही सुनिरहेछु, देखिरहेछु । किसन राई, हाडयुग अज्ञात, देश सुब्बादेखि हाल चम्किली देखिएकी दीपा एवाई राईसम्मका अनुभूतिहरू-अभिव्यक्तिहरू यसै माध्यममा पोखिएको पढिरहेछु । यसरी हङहङमा नेपाली साहित्य निकै मौलाउँदै गएको देखिरहेछु । भाषा र साहित्यका माध्यमबाट राष्ट्रियताको विकास गर्ने यस महायात्रामा विशेषतः जनजातिहरू अभियन्ता बनेको देख्दछु, नेपाली साहित्यका अभावहरू, रिक्तताहरू भर्न हङकङेली नेपाली स्रष्टाहरू लागिपरेको देखिरहेछु । यस कारण एउटा नेपाली भएका नाताले, नेपाली भाषा र साहित्यका प्राध्यापक भएका नाताले म ती सम्पूण स्रष्टाहरूप्रति न्यानो अभिवादन चढाउँछु । मैले देखें सम्पूण हङकङेली समाजको अहिलेको पुस्ता कि त एकभाषिक छ, कि त द्वैभाषिक छ । दुवै अवस्थामा नेपाली नै एउटा भाषिक माध्यम छ । विषमजातिभाषिक समाजको स्थिति र आवश्यकता पनि यही हो । हङकङमा मात्र होइन बेलायत, अमेरिका, मलेसिया, दुबई, भारत जहाँ पनि हामी यस्तै स्थिति भेट्दछौं । वर्तमान आधुनिक र विश्व एउटै सञ्जालभित्र समेटिन थालेका युगमा आधुनिकताका तीव्र लहरको परिणाम हो यो, जसलाई अस्वीकार गर्दा हामी आफैं छलिन्छौं र थलिन्छौं । त्यसैले यो समुदाय आधुनिकिकरणका निम्ति नेपाली साहित्यका क्षेत्रमा प्रवेश गरेको देखिन्छ । यसका प्रवेशले समुदाय आफैंलाई र नेपाली भाषा र साहित्यका क्षेत्रलाई समेत उन्नत बनाएको छ । जहाँ भाषिक साहित्यिक विविधता हुन्छ त्यहाँ भाषा र साहित्य दुवै उत्तिकै जीवन्त हुन्छन् भन्ने कुरा अङ्ग्रेजी भाषा र साहित्यले पनि प्रमाणित गरेको छ । यस्तो विविधता शब्द, वाक्य वा व्याकरणमा मात्र नभएर विषयवस्तुमा पनि स्वतः हुन पुग्छ । यसैले गर्दा यो भाषा खस भाषा होइन, नेपाली नै हो भन्ने कुरा तपाईहरू आफैंले प्रमाणित गरिसक्नु भएको छ ।आज नेपालभित्र र बाहिर नेपाली भाषा र साहित्यलाई हेर्ने दुइ धारहरू देखिएका छन् एउटा रामचन्द्र, कृष्ण, सीता, रूपमती, इन्दिराहरूबाट प्रभावित धार जुन हिन्दू परम्परावादी छ, शुद्धतावादी छ, जातीय स्वर वा मिथकहरूदेखि अपरिचित तथा आशङ्कित हुँदै साधनाशील छ । अर्को धार युगौंदेखि थिचिएका, जाति, भाषा र संस्कृतिको पहिचान गुमाइएको बुझेर स्वपहिचानका निम्ति आन्दोलित र आक्रोशित हुँदै आएको छ र यस भाषालाई खस भाषा भन्न रुचाउँछ । यस दोस्रा धारलाई मार्जिनल विश्व पनि भन्ने गरिन्छ । यी दुवै अतिवादी धार देखिएका छन् किनभने यस दोस्रा धारले पनि त्यस निषेधलाई पनि निषेधित गरेको छ । यी दुइ धार एक अर्काका ठिक विपरीत दिशामा रहेका छन् । यी दुवै धारका बीचबाट तेस्रो धार देखिन थालेको छ जसलाई राम्ररी पहिचान गर्न सकिएको छैन । यस तेस्रा धारभित्र नेपालभित्र र बाहिरका थुप्रै नेपालीहरू जानीनजानी, भनौं मनोनिर्देशले स्वतः छिरेका छन्, छिर्दै छन् । यो तेस्रो धार नयाँ स्वरूपमा देखा पर्न लागेको धार हो । यसले नेपालभित्र र बाहिर हङकङ, बेलायत, अमेरिका, सिङ्गापुर, दुबई, मलेसिया जहाँ रहेर पनि एउटै भाषा र साहित्यमा सिर्जना प्रवाहित गर्दैछ । उनीहरूले भूगोलका अवरोधलाई पन्छाएर आँखामा नेपाल भलझली देखेका छन् र जाति तथा देशलाई यसरी चिनेका छन् ।

मेरो जाति मैले बुझेको भन्दा पनि गहिरो रहेछ ।
मेरो देश मैले देखेको भन्दा पनि ठूलो रहेछ ।
उनीहरूले त मेरो जाति टुक्राउने कुरा गरिरहेका थिए ।
मेरो अंशवण्डा गरिरहेका थिए ।
मैले थाहा नै नपाई आँखाको तलाउ सुकेर कतिखेरदेखि
ह्वारह्वारती आगो बल्न थालेछ ।
-देश सुब्बा (जाति)
साहित्यसँगै भाषा टाँसिन्छ, यी दुवै एकै वस्तुका आत्मा हुन् जसलाई छुट्याउँ“दा एकातिर भौतिक संरचना मात्र हुन्छ, अर्कातिर अमूर्त चेतना । साहित्यमा विकास हुनु भनेकै भाषा समृद्ध हुनु हो । नेपाली जनजातिहरूको प्रवेश र विकास नेपाली साहित्यमा हु“दा स्वतः नेपाली भाषाको पनि विकास हुन्छ । आजका नेपाली साहित्यलाई नेपालभित्र र बाहिर कुना कुनामा विस्तारित गर्दै नेपाली माध्यममा विविधतापूण् चामत्कारिक सृजनाहरू ल्याउने पहिलो पुस्ता होइन, पछिल्लो पुस्ता हो । हेर्दैमा चिल्लापाते यस समसामयिक पुस्ताको पहिलो भाषा नेपाली होइन, यो दोस्रो लक्ष्य भाषाका रूपमा नेपाली स्वीकार गर्नेहरूको ठूलो रहरलाग्दो जमात हो । यस जमातमा एकपछि अर्का स्रष्टाहरू छिर्दैछन्, जसले नेपाली भाषालाई सम्पर्क भाषा भन्दा माथि पुर्याउँदै कोइने भाषाका स्तरमा प्रतिष्ठित गरेका छन् । यसो हुँदा यो भाषा खस, पर्वते गोर्खाली होइन भन्ने स्पष्ट हुन पुगेको छ । यस जनजातीय स्रष्टा समूहले विश्वसाहित्यमा उडान भर्न लागेको यस भाषालाई खस, पर्वते र गोर्खाली जस्ता जातीय, नस्लीय, एकल राजनैतिक वा क्षेत्रीय नाममा सीमित गर्न खोज्नु यस भाषा र साहित्यमा ठूलो योगदान गरिरहेका स्रष्टा प्रतिभाको अवमूल्यन हुनेछ र यसै भनियो भने भविष्यले ती स्रष्टाप्रतिभाहरूप्रति नकारात्मक मूल्याङ्कन गर्ने सम्भावना देखिन्छ । जहाँसम्म नेपालका विभिन्न भाषाहरूमा लेखिएका साहित्यको प्रश्न छ, ती भाषा र साहित्यलाई नेपालेली भन्नु उपयुक्त हुन्छ जसले नेपालका सबै मातृभाषा र तिनमा रचिएका साहित्यलाई समान हैसियतमा प्रतिष्ठित गराउँछ ।एउटै भाषा विशिष्ट आमूल परिवर्तनकारी कारणविना भिन्नाभिन्नै नामले चिनाइँदा पाठक, श्रोता र समाजशास्त्रीलाई कति कठिन होला ? उही बोली भारत, हङकङ, अमेरिकामा नेपाली तर नेपालमा चाहिँ खस भनियो भने यो दुवैका भेदलाई भाषाशास्त्रले कसरी खुट्याउने होला -यस भाषाका मान्यताका निम्ति हङकङ लगायत विदेशमा भएका आन्दोलनको मूल्याङ्कन कसरी गर्ने ? नेपाली भाषाका मान्यताका निमित गरिएका आन्दोलनका परिणामस्वरुप २००३ सन् मा पञ्जीकृत हङकङ नेपाली पाठ्यक्रम विकास परिषदबाट छ विषयमध्ये एक विषयका रुपमा दिइएको मान्यता, १९९६ देखिका सशक्त संघर्षका परिणामस्वरूप २००५ देखि २२ वटा प्रा.वि., मा.वि तथा उच्च मा.विलाई डेजिक्नेटेड स्कुलक रुपमा छुट्याई नेपाली विषय र माध्यम दुवैका पठन-पाठनमा हङकङ सरकारबाट दिइएको स्वीकृति, यहाँ संचालित हुँदै आएका भानुजयन्ती, देवकोटा जयन्ती, पूर्खा दिवस जस्ता सांस्कृतिक कार्यक्रमहरूमा भइरहेका नेपाली माध्यमको प्रयोग जस्ता उपलब्धि र साहित्य प्रतिष्ठानका अघि नेपाली शब्द राख्ने परिकल्पनाकारहरू, संस्थापक अध्यक्ष राई चन्द्र दुमी लगायतका प्रतिभाहरूका योगदानलाई के भन्ने ? यस्तो लामो परम्परा भइसकेका यस स्थितिमा भोगिएको इतिहास र भोग्दै गरेका वर्तमानबाट हामीले विश्वग्राममा चिनिन र लोकल कलरसहित वा प्रत्येक जनजातीय पहिचान लिएर आधुनिकीकरणमा फ्युजन खोजिरहेको देखिन्छ अर्थात् हामीले जातीय/नस्लीय संस्कार पनि अभिव्यक्त गर्नुछ र सिङ्गो नेपाली पनि हुनु छ । यस अभियानमा सक्रिय सहभागिता मात्र नभएर नेतृत्वका अग्र पङ्क्तिमा उभिने श्रेय नेपालबाहिर हङकङले लिएको देखिन्छ । हङकङेली नेपाली साहित्यको यस्तो प्रवृत्ति अत्यन्तै आशलाग्दो उज्यालो भविष्यको शुभसङ्केत हो । यसै परिप्रेक्ष्यमा हङकङेली नेपाली सहित्यको अध्ययन अपेक्षित हुन्छ । यसै सिलसिलामा केवलपुरे किसान पुस्तकालय खुल्नुले यसको गरिमालाई झनै बढाएको छ ।अब नेपाल र नेपाली काठमाडौं, भक्तपुर र ललितपुर वा नेपालभित्र मात्र बाँधिन सकेनन् । यिनीहरूका आयामहरू विस्तारित भएका छन्, क्षितिजहरू फराकिएका छन् । एउटै भाषा र साहित्य बहुरङ्गले रङिएकोछ । यो नौरङी डाँफे वा सप्तरङ्गी इन्द्रेणी भएको छ । यसमा विभिन्न जातजाति र जनजातिका आस्थाहरू प्रकट हुन थालेका छन्, बन्धनहरू खुकुलिँदै छन् । अब बिसे नगर्चीको गुनासो सुनिन थालेको छ, रामभरोसाको पीडा पोखिन थालेको छ, यलम्बर-बलिहाङहरू बोल्न थालेका छन्, निसाम (आदिवासी उपन्यासको नायक) ले भयको कारण बुझदै त्यसबाट मुक्ति पाउने उपाय पनि बुझ्न थालेको छ । यसरी नेपालीमा जनजातीय साहित्य र समालोचनाहरू लेखिन थालेका छन्, गीत, सङ्गीतहरू गुन्जिन थालेका छन् । लाग्छः नेपाली गायन र वादन त जनजातिको एकाधिकार जस्तै हुन पुगेको छ । हराउन लागेका टुङ्ना, मर्चुङ्गा, विनायोहरूको पुनर्निर्माण सुरु भएको छ ।म डायस्पोरा साहित्यबाट निकै टाढा रहेको र पुरानो शास्त्रीयताले थिचिएको मान्छे । हङकङेली नेपाली साहित्यसँग मेरो कुनै सम्पर्क पनि थिएन तर सम्पर्क गाँसियो देश सुब्बाजीको अपमान उपन्यासबाट । २०६४ मा धरानको होटल अम्बेसेडरमा प्रदीप मेन्याङबोका संयोजकत्वमा आयोजित परिचर्चाबाट मैले हङकङको साहित्यिक गतिविधिबारे थोरै जानकारी पाएको हुँ तर त्यहाँ हङहङको भन्दा अपमान उपन्यासको चर्चा बढी भएको थियो । त्यसपछि धरानमा पत्रकार महासंघको कार्यालयमा डि.बी. पालुङ्वाको आलाप सि.डी.को विमोचन, देश सुब्बाका भयवाद र आदिवासीको राष्ट्रिय बहस, भयवादः वैचारिक चिन्तनप्रतिको अन्तक्रिया, दिल पालुङ्वाको छोटो फ्रक, नेपाली साहित्य प्रतिष्ठानबाट प्रकाशित यथार्थका चोइटाहरू र दीपा एवाई राईको समुच्च विचार र त्यसका यात्रामा प्रकाशित अर्धवृत्त हुँदै म हङकङेली नेपाली साहित्य र समाजस“ग नजिकिन आइपुगेको हुँ । यसै क्रममा काठमाडौंमा भरखरै परिचित उपेन्द्र सुब्बा, सिर्जनशील साहित्य तथा हङकङमा कविता र भर्खरै विमोचित नेपाली साहित्य प्रतिष्ठानको दसौं वाषिर्क स्मारिकाबाट हङकङेली नेपालीलाई चिन्न थालेको छु । परिचयका यी स्रोतबाट मलाई के लाग्यो भने हङकङले छुट्टै तर फराकिदै गएको आफ्नै नेपाली साहित्यको केन्द्र बनाउन थालेको रहेछ जसमा नेपाली साहित्य प्रतिष्ठान र यसका पदाधिकारी, प्रेरकहरू राई चन्द्र दुमी, गणेश राई, प्रकाश छाङ्छा राई, क्रान्ति सुब्बा, टङ्क सम्बाहाङ्फे, देश सुब्बा, शरण सुब्बा, वसन्त निरौला, डि.बी. पालुङ्वा, बिमल राई, अशोक राई, नरेन्द्र सेन्दाङ, नरेश सुनुवारका योगदानमा यहाँका भाषिक-साहित्यिक गतिविधिहरू फस्टाउँदै गएका देखिन्छन् ।राईफल, गैंती, बेल्चा उचाल्दै बेलायती दासत्वमा बाँच्ने बाध्यतामा पिरोलिएर पनि पर्वते पत्रिकादेखि नै उदाउन थालेका नेपाली सिर्जनशील व्यक्तित्वले विशेषतः बेलायतले छाडेर चीनका मातहतमा, त्यसमा पनि एक देश दुइ नीति अन्तर्गत हङकङको शासकीय व्यवस्थापन सुरु भएपछि हङकङेली नेपाली साहित्य फस्टाउन थालेको देखिन्छ । भूपेन्द्र चेम्जोङ, चन्द्र मादेन आन्छन्हरूका नेतृत्वमा सन् १९९८ डिसेम्बर १३ का दिन बायोनियल हल, मङ्ककमा पहिलो कवितागोष्ठी भएका परिणामतः टङ्क सम्बाहाङ्फे अनुसार २००० मार्च ५ तारिखका दिन साहित्यकार, गीतकार र पत्रकारमाझ स्थापित नेपाली साहित्य प्रतिष्ठानले जातीय, क्षेत्रीय, सामाजिक तथा राजनैतिक संस्थाबाट एकदमै पृथक् रहेर साझा नेपाली साहित्यको विचार प्रवाह गर्दै आएको सुन्दा मलाई नेपाली हुनुको गौरवको आभास भएको छ । त्यसमा पनि संस्थामा आबद्ध भएर आफू पनि लेख्ने र अरूलाई पनि लेख्न प्रोत्साहन दिने परिपाटी बसाइएको कुरा थाहा पाउँदा मेरो छाती गर्वले फराकिलो भएको छ र शिर उचालिएको छ । यस दश वर्षा छोटा अवधिमा हङकङेली नेपाली भाषा र साहित्यले संस्था, पत्रपत्रिका, फुटकर तथा पुस्तकाकार कृतिहरू, डट कम र वेभ सइटहरू, विविध विधा र माध्यमबाट आफूलाई विस्तारित गरेको छ । पूवक्षितिज ( प्र.सं. राई चन्द् दुमी), अविराम (सं. क्रान्ति सुब्बा) , जनजाति, चौबिसेका गोरेटाहरू, यलम्बर, सेक्मुरी, सम्वाद, एभरेस्ट (सं. किसिन राई ), सनराइज (सं. भूपेन्द्र चेमजोङ), परदेशी, पाहुर, नेपालपोष्ट ओभरसिज, भरखरै प्रकाशन सुरु गरेको साप्लाबुङ, नमस्ते हङकङ जस्ता नियमित-अनियमित पत्रपत्रिकाहरूबाट धेरै नेपालीको सिर्जना मुखरित भएको छ । यसै गरी नेपाल डट.कम, एचकेनेपाल, कविता कुसुम, स्रष्टा ब्लगहरूका योगदानको पनि यस बेला कदर गर्नुपर्ने हुन्छ । नेपाली साहित्य प्रतिष्ठानका अतिरिक्त सिर्जनशील साहित्य समाज, जनजाति साहित्य समूह, आदिवासी गीतकार समाज, नेपाली कला मन्दिर, नेपाली साहित्य परिषद्जस्ता झन्डै एक दर्जन संस्थाहरूले प्रतिभाहरूलाई एक सिर्जनाका लिकमा हिंडाएका छन् । यसका साथै विद्यालय र छात्रछात्राहरूलाई सक्रिय सहभागी गराउँदै देवकोटा जयन्ती लगायत विविध कार्यक्रमहरू गर्दै रहेका देवराज राई र उनका सहयोगीहरूका क्रियाकलापबाट पनि यहाँ नेपाली भाषा र साहित्यका विकासमा राम्रो वातावरणको निर्माण गरेको छ ।एकातिर देश सुब्बा, गणेश राई, हाङयुग अज्ञात, शरण सुब्बा, टङ्क सम्बाहाङ्फे, भोगेन एक्ले, नरजीत राई, महेश साम्पाङ, हिमकला राई, जया राई, देवेन्द्र खेरेस, विमल राई, प्रकाश के.सी., प्रदीप कन्दङबा, राई चन्द्र दुमी, नरेश सुनुवार, भूपेन्द्र चेम्जोङ, शिव प्रधान, मालिकराम राई, राजाराम शाही, अशोक गहतराज, भवानी मास्के, सुरेन लिम्बू, कमल पौडेल, डि.बी. पालुङ्वा, दिल पालुङवाहरू यहाँका पुराना प्रतिभाहरू देखिन्छन् भने यसै वर्ष नयाँ विचार र अर्धवृत्त कविता सङ्ग्रहबाट चिनिएकी दीपा राई स्थापित भइसकेकी छन् । अर्कातिर किन्दर राई भगत सुब्बा, लोक सिङ्गक, जितबहादुर राई, इप्सु थापा जस्ता बीसौं व्यक्तित्वहरू स्थापनाका चरणमा छन् । हङकङले कविता, गीत, कथा, उपन्यास र समालोचना क्षेत्रमा उपलब्धिपूण् काम गरेको देखिन्छ । हाङयुग अज्ञात, रामकृष्ण बान्तवा, प्रदीप कन्दङ्वा, नरेश सुनुवारका दरा समालोचक पनि देखिएका छन् । उपन्यासका क्षेत्रमा देश सुब्बाको आदिवासी नेपाली साहित्यकै एक क्षेत्रको विशिष्ट उदाहरण हुन पुगेको छ । यसले अपमान (२०५२) बाट प्रस्तुत जनजातीय-नस्लीयबोधलाई भयवादका दार्शनिक धरातलमा जातिसांस्कृतिक उपन्यासका रूपमा उचालेको छ । पुस्तक प्रकाशनमा पनि हङकङ उतिकै सक्रिय देखिएको छ । प्रकाश छाङ्छा राई ( पराजित अनुहारहरू २०३५, १९वर्षो युद्धः २०३६, भग्नावशेष मायाका छालहरूः २०४५, अभिव्यक्ति केही आवाजः २०४७, र पुल तरेपछि हराएको मान्छेः २०६४), देश सुब्बा - दोषी कर्मः २०५०, अपमानः २०५२, शहीदः २०५६ र आदिवासीः २०६४),शिव प्रधान (छरिएको सिन्दूरः २०५६), गणेश राई ( राइफलको नालबाट जीवन नियाल्दा), रामकृष्ण बान्तवा ( सघन तुवालो), टङ्क सम्बाहाङ्फे ( युद्धभित्र उभिएका बुद्धहरू), प्रद्वय अर्थात् प्रकाश के.सी. र प्रदीप कन्दङ्वा ( शब्दघोष जिजीविषा), नरेश सुनुवार ( अस्तित्वको राँकुदेले सेक्सेलेले), नेपाल कुश्शा ( त्यान्द्रोः २०५९ र छोटो फ्रक), मालिकराम राई ( सयपत्री), भोगेन एक्ले ( बेनाम), दीपा एवाई राई ( अर्धवृत्तः २०६६) लगायत एक सगर दुइ तारा, जिन्दगीको पहाड, यथार्थका चोइटाहरू, ककफिक, मिशाल, आकाश खोज्दै जाँदा, हङकङमा कविता, सृजनशील साहित्य, रुङरीको बयान र नदी किनारा जस्ता पुस्तकहरू उल्लेखनीय देखिएका छन् । गीतका क्षेत्रमा पनि टङ्क सम्बाहाङ्फे, विमल राई, डि.बी. पालुङ्वाहरू सक्रिय देखिएका छन् ।
यी र यस्ता रचनाहरूबाट नेपाली साहित्यमा निम्नलिखित उपलब्धि भएका देखिन्छन्
- विदेशमा बसेर पनि नेपाल र नेपालीका पीडाको अभिव्यक्ति
- जनजातीय लेखन
- कवितामा नयाँ शिल्प र शैली (जस्तैः मोटा अक्षर, शब्द, अक्षर र पंक्तिविन्यासमा नवीनता, अंक, चक्र र रङ्ग कविता) ।
- संगठित रूपमा साहित्य
-कलाको प्रचारप्रसार
- उत्तरआधुनिक समालोचनामा विवादित लेखकको मृत्यु सम्बन्धी हाङयुग अज्ञातको नया व्याख्या र प्रदीप कन्दङ्वाबाट नयाँ पाठकको जन्म सम्बन्धी विचारको पूर्वतयारी
- सबैभन्दा ठूलो प्राप्ति देश सुब्बाको भय दर्शन र दीपा राईको समुच्च विचारको प्रतिपादनयसरी हङकङले हङकङ र नेपाल मात्र होइन, विश्वलाई नै दृष्टिकोण, विचार र दर्शन दिएको छ । उच्चतम प्राप्तिको मूल्याङ्कन अझै भइसकेको छैन तथापि हङकङलाई नेपालले अब पढ्न पढाउन थालिसकेको छ । भर्खरै यसै बर्षेखि लागू नेपाली पाठ्यक्रममा हङकङेली डायस्पोराको पनि समावेश गरिएको छ । यसकारण सबै स्रष्टाहरू, चिन्तकहरू र हङकङेली नेपालीहरूलाई बधाई दिन्छु र यस चिन्तन, लेखन र संस्थापनमा हङकङ एउटा आदर्श बन्न सकोस् भन्ने समेत शुभकामना ।
नेपाली साहित्य प्रतिष्ठान,हङकङ सन् २०१०/०२/१३ आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र

Category: 0 comments

नेपाली साहित्य प्रतिष्ठानले निर्माण गरेको इतिहासलाई छोएर हङकङ हेर्दा

डा. गोविन्दराज भट्टरार्इ
घरदेखि यति टाढा रहेका वन्धुवान्धवसँग भेट गर्ने सुयोग परेको यो बेला मेरो हृदय आनन्दातिरेकले नाचेको छ । यो हर्षप्रकट गर्न शब्दको अभाव भएझैँ लाग्दैछ । यहाँ आइपुगेको बेला र्सवप्रथम त हाम्रो हृदयमा एउटा साझा भूमिको कल्पनाले हुन्छ, त्यसपछि मनलाई एउटा विशाल भाषाले उनिएका छौँ भन्ने भावनाले हुन्छ । त्योभन्दा बढी त्यही भाषाको समृद्धि र निरन्तरताको लागि अनेक त्याग र तपस्यामा लाग्नुहुने तपाईंहरूको सामुन्ने उभिन पाएको छु भन्ने सम्झँदा आनन्दले मेरो मन भरिएर आउँछ । किनभने यतिखेर हामी त्यो साझा भूमिमा उभिएर यसरी हृदय पोखिहेका छैनौँ टाढा छौँ, भिन्न जस्तै छौँ, एक नोस्टालिजयाले जोडिएको सम्झँदै यहाँ यो समय भोगिरहेका छौँ । यहाँ भूगोल भिन्न छ, संस्कृति भिन्न छ, भाषा परिवार भिन्न छन् । सबै पृथकताहरूको बीचमा पनि कहिल्यै भिन्न हुन नदिने एक नेपाली चेतना छ । त्यही जातीय चेतनाले हामी जोडिएका छौँ । आज यसरी अनेक भिन्नतामा बसोबास गर्ने नेपालीको सङ्ख्या ५० लाख पुगेको अनुमान छ । यसको सही तथ्याङ्क पत्ता लगाउन, विश्वका ५५ देशमा वितरित नेपाली जातिको अवस्थिति, परिवेश र सङ्ख्याको आँकलन गर्न एसोसिएन अव् अमेरिकन नेपलिज (आना) ले हालै एउटा कार्य-प्रस्ताव राखेको छ । त्यसले एउटा ग्लोबल नेटवर्कको स्थापना गरी देशपारीय भूभागमा छरिएका पिपल अव नेपाली ओरिजिन (पी.एन.ओ.) को साझा परिचयको स्थापना गर्नेछ । पी.एन.ओ. ले ५५ देश भनेको छ ।
यसमा शायद भारतीय भूमि बाहेककै नेपाली होलान् । भारतीय नेपालीको आंसिक परिचय स्थापित भइसक्यो; ती पूर्णताको लागि सङ्घर्षरत छन् । यसरी भिन्न भूभागमा अनेक अन्तर भोगेर बस्ने छरिएको जातिलाई देशपारीय समुदाय (डायास्पोरिक कम्युनिटि) भनिन्छ । यी सिङ्गै देश बन्न अथवा अर्धदेश बन्न धेरै समय लाग्ला, त्यसैले ती सांस्कृतिक समुदायको रूपमा चिनिन्छन् । भारतीयले सुरिनाम क्यानाडा, बेलायत लगायतका भूभागमा राजनीतिक सामाजिक स्थान बनाइसके, नेपाली अलिक पछि छन् । म यहाँ डायास्पोराको सोसिओ-पोलिटिकल प्रसङ्ग छोडेर केवल साहित्यको चर्चा गर्न चाहन्छु; हङकङेली डायास्पोराको नेपाली साहित्यलाई छुन चाहन्छु । यस्तरी दुर्इ भूभागमा जोडिएका जाति, तिनीहरूका भाषा संस्कृति योजक-चिन्हित (हाइफनेटिड) भनिन्छन् । अब अमेरिकी-नेपाली, भारतीय-नेपाली, हङकङे-नेपाली योजक-चिह्नीत परिचय भइसकेका छन् । यस्ता प्रकारका योजक-चिह्नीत परादेशीय केन्द्रमा बेलायत, अमेरिका, हङकङ, मलेसिया, रुस, बर्मा, खाडी मुलुक पर्लान् । अरू अनेक नयाँ मुलक थपेर ५५ पुगेका छन् ।आज म अलिकति हङकङमा अवतरण गर्न चाहन्छु । त्यो भन्दा पूर्व हाम्रो वर्तमान बँचाइलाई अर्थ्याउने विश्वपरिस्थितिको पनि चर्चा गर्न चाहन्छु । सर्बप्रथम त म नेपाली साहित्यप्रतिष्ठान, हङकङलाई हृदयदेखि उठेको आफ्नो प्रेम अर्पण गर्न चाहन्छु । मेरो जीवनमा एक ठूलो संयोगको कुरो हो कि गतवर्ष एउटा डायास्योरिक केन्द्रबाट आरम्भ गरिएको अनलाइन प्रकाशनको दसौँ वाषिर्कोत्सवमा भाग लिन रुस पुग्ने अवसर मिलेको थियो । यशपल्ट हङकङको सबैभन्दा पुरानो संस्थाको साहित्यिक क्रियाकलापको दशवर्षे कार्यक्रममा यहाँ सहभागी हुने अवसर प्राप्त भयो । यी दशवर्षहरू नेपाली साहित्यको जस्तै मेरो मनको इतिहासमा सदा स्मरणीय रहनेछन् । नेपाली साहित्यको दीर्घ इतिहासमा दशवर्षको अवधि नगन्य हो त जब हङकङतिर फर्किहेर्छौं यो नवीन इतिहासको प्रथम माइलखुट्टी एक दशकसम्म अविचलित भई चलिरहनु, अनेक अभावमा, कष्टमा, वातावरण प्रतिकूल भएको स्थानमा लागिरहनु र एउटा सुदृढ भविष्यको दिशाबोध गराइरहनु सानो तपस्या होइन । सन् २००० मा रार्इचन्द्र दुमी अध्यक्ष भएको आरम्भविन्दुदेखि आज टंक सम्बाहाम्फेको पालामा आयोजित यो कार्यक्रम र यसले निर्माण गर्ने इतिहास हेर्दा हाम्रो मनमा हर्ष शिवाय केही बाँकी छैन ।त्यसो त यो मनमा 'हङकङ' शब्द कहिलेदेखि ध्वनित भयो म भन्न सक्तिन हाम्रा वरिपरि तल्ला क्याप्टन, माथ्ला क्याप्टन, सत्ताइस जस्ता सेवानिवृत्तहरू दमक वरिपरि थिए । क्याप्टेन भगतबहादुर रार्इले रोमन लिपिमा पर्वते पत्रिका लगेर मलाई देखाउँथे- हेर्नुस् गुरुजी हाम्रोमा सबै कुरा अङ्ग्रेजीमा हुन्छ । पछि १९९७ को ऐतिहासिक सन्धीकाल भोग्दै गुज्रिरहेको उद्वेलित हङकङलाई टाढाबाट हेर्‍यौँ । त्यसमा मुक्ति र बन्धनका दुवै सन्देश थिए । नेपालीको एक पुस्ताले अनुभव गर्‍यो । लेख्यो पनि । सुदूरको इतिहासदेखि यहाँ नेपाली जाति गोर्खा भएर पसेको कथा छ ।
त्यसको जीवन्त प्रस्तुति छ गणेश रार्इको युद्ध एम्बुसमा राइफलको सङ्गीत । त्यो पढ्दा यो धरती नेपाली रगत पसिनाले उसैबेला भिजेको देखाउँछ तर इतिहासको परिवर्तनले कत्राकत्रा सभ्यतामा भूकम्प ल्याउँछ; त्यहाँ पहिरो चल्छ फेरि त्यहाँ नयाँ उत्तीस पलाउँछ । सायद हङकङको नेपालीलाई १९९७ ले अर्कै कालखण्डमा उतार्‍यो । पछिको हङकङ एक पहिरोपश्चात् नयाँ विरुवा पलाएको भयो । यसपाली भारत-नेपाल कविता सम्मेलनमा सहभागी भै देहरादून पुग्दा देखेँ- त्यहाँको नेपाली जाति सुगौली सन्धीको पहिरामा पलाएको उत्तीस झै छ । यहाँको 'बिएफबिएस' मा लामो समय सेवा गर्ने श्री किशोर गुरुङलाई पछि नेपालमा स्वागत गर्‍यौँ । रुसमा त्यस्तै भएको थियो । १९९० को परिवर्तन पश्चात् रेडियो मस्कोको नेपाली सेवा सदाको लागि बन्द भयो । एउटा मर्छ अर्को कतै पलाउँछ पनि । क्षतिपूर्ति भएकै छ । बेलायतमा, अमेरिकामा आज आफ्नै भाषामा पत्रपत्रिका, रेडियो, टि.भि. चलेको सुन्दा हामीलाई यस्तो लाग्छ । त्यो नयाँ समयपश्चात् यहाँ स्थापित हुन थालेका मेरा पुराना विद्यार्थी टंक सम्बाहाम्फे मलाई भेट गर्न एकदिन मेरोमा (काठमाडौँ) पुग्नु भयो । त्यहाँदेखि भिडियो क्यामेरामा मेरो अन्तर्वार्ता भरेर यता ल्याई अविरामको एक अङ्कमा छाप्नु भयो । पछि चौवीसेको गोरेटोमा पनि अर्को रचना छापिदिनु भयो । ती दिनमा नेपाली साहित्य प्रतिष्ठानको स्थापना भइसकेको थियो । अघिको नेपाल पोस्टमा केही लेखेँ र भर्खरको सनराइजको प्रवेशाङ्कमा पनि लेख्न थालेको थिएँ । तर ती प्रकाशनले यतिखेर थकाइ मारिरहेका छन् जस्तो लाग्छ । म टंक भाइका कविता पढ्न थालेँ, पछि गीत सुन्न लागेँ । एक साहित्यचेतना भएका अग्रणी युवा, निःस्वार्थ र प्रचारको मोह नगर्ने टंकको विनम्रताले मलाई अझै छोएकै छ ।म यी अन्तरालका वर्षहरूमा धमीलो गरी मात्र हङकङसित जोडिएर रहेँ । यहाँबाट प्रतिष्ठानले प्रकाशित गरेका शिव श्रेष्ठको छरिएको सिन्दुर, टंक सम्बाहाम्फेको युद्धभित्र उभिएका बुद्धहरू, दिल पालुङ्वाको त्यान्द्रो, संयुक्त कथासङ्ग्रह यथार्थका चोइटाहरू जस्ता कृति पढ्दै गएँ । नेपाली माध्यमको उच्चशिक्षालय, प्रकाशन संस्थान, पुस्तकालय, विश्वविद्यालय नभएको नयाँ ठाउँमा जेजति हुन्छ त्यो सारा नेपालमै शिक्षा ग्रहण गरेर आएका जातिप्रेमीहरूले लिएको उत्साहले मात्र भएको छ । उनीहरूले कठोर श्रमबाट समय उभारेर रचेका, गाँस काटेर छपाएका कृतिको अर्थात् अँध्यारोमा जलाएका ससाना दीपकको आज ठूलो ऐतिहासिक महत्त्व छ ।विस्तारै यताका वर्षा अरू लेखकसित म कृतिमार्फत अनि व्यक्तिगत भेटमा पनि नजिकिँदै गएँ । यसैबेला साहित्य सिद्धान्तको जगत्मा नयाँ अवधारणा आयो- डायास्पोरिक लेखन, यसको विशेषता, यसको मूलधार लेखनसितको सम्बन्ध, समानता र भिन्नताका सिद्धान्त आए, यसरी म हङकङतिर तिनै दृष्टिले पनि हेर्न लागेँ । भिन्न मातृभाषी विविध संस्कृतिका स्रष्टाले गर्ने सिर्जनामा जातीयता र वहुल संस्कृतिको प्रभाव र त्यसको महङ्खवको व्याख्या गर्ने साहित्य सिद्धान्त निस्किए, सिद्धान्तकार निस्किए । म त्यसरी पनि हङकङलाई हेर्न लागेँ । गर्दागर्दै अघिदेखि नै उदाएका त्यस्ता नयाँ चेतना बोकेर आउने स्रष्टासित पनि मेरो सम्पर्क बढ्दै गयो- रामकृष्ण वान्तवाको आमा छोरी र सघन तुवाँलो (त्यसको रूपान्तरण स्रिल मिस्ट) हेरेँ; देश सुब्बाको अपमान हेरेँ, सृजनशील साहित्य समाजको हङकङमा कविता हेरेँ, हाङयुगहरूको सृजनशीलता विषयक समीक्षा हेरेँ, देश सुब्बाको भयवादको अवधारण र पछिको आदिवासी हेरेँ । नरेश सुनुवारको 'जिन्दगीको पहाड र अस्तित्वको रा“कुदेले सेक्सेलेले...' पढेँ । अन्त्यमा दीपा एवार्इ रार्इको अर्धवृत्त पढेँ । यसबिचमा मैले टंक सम्वाहाम्फे, हाङयुग, देश सुब्बा, नेपाल कुश्शा, डीवी पालुङवा, नरेश सुनुवारबारे केही बोलेको लेखेको पनि छु । उनीहरूका योगदानको चर्चा गरेको छु । यसबारे प्रकाश पार्दै आएको छु । अघि हङकङ बसेर अहिले बसार्इ सरेका गणेश रार्इका शक्तिशाली सिर्जना कृतिहरू र जया रार्इको डम्बरी बारे लेखेको छु, मदन माबोको बारे बोलेको छु । सकेसम्म बुझौँ भन्छु कति सम्पर्क र समयको अभावले कति आफ्नै अज्ञानताले हङकङमा अन्धकार दिनहरूमा नेपाली संस्कृतिको जगमा ढुङ्गा चढाउनेहरू महलमा गारो लगाउनेहरू कति छोपिएका होलान् । यो ठूलो अनुसन्धानले मात्र उद्घाटन गर्न सक्तछ । म यसतर्फसचेत छु । यसो गर्दागर्दै साइबर जगत्को उदय भयो । यहाँ समाचार र अझ साहित्यका साइटले नेपाली वाङ्मयको निर्माणमा अत्यन्तै ठूलो योग्दान गर्दैछन्- बगैँचा, सिर्जना, मूलबाटो आदि चलेका छन् । अझ कविताकुसुम ता नेसाप्रको समानान्तर उत्थापक भएर इ-विश्वमा वितरित छ । अरू छन् एचके नेपाल, नेपाल एचके, फियरिजम, लिम्बुवान- प्रत्येकले नेपालीको समाचार, सूचना, चेतना, भावना अनेक कुरा बोकेर उडिरहेका छन् ।
हङकङ यसप्रकारले दृश्य अदृश्य दुवै माध्यमले उठ्दै छ । यो टाढाबाट देखिने सुनिने हुँदैछ । यसरी यसलाई चिनाउने शक्ति नेपाली जातिको सङ्ख्या होइन उनीहरूमा रहेको साहित्य कला सङ्गीतप्रतिको चेतना हो जुन कुरालाई विश्वले सभ्यताको मार्ग ठान्दछ, यो तिनैको अनुशरण हो । यसतर्फलाग्ने अग्रणी चेतनामध्ये, जगको ऐतिहासिक ढुङ्गोमध्ये नेपाली साहित्य प्रतिष्ठान र यसलाई निरन्तरता दिनेहरू हुनुहुन्छ । आज म तपाईंहरू सबैप्रति सम्पूर्ण नेपाली साहित्यकारको तर्फबाट विशेष कृतज्ञता र साधुवाद अर्पण गर्दछु । नेपाली साहित्य प्रतिष्ठानको दशौँ वाषिर्कोत्सव स्मारिकाले धेरै कुरा प्रकट गरेको छ । यसले द वेष्ट अफ हङकङलाई समाहित गरेको छ । सङ्गीत, कला, खेलकुद, पत्रकारिता लगायतका जीवनका अन्य पक्ष समेट्ने अन्य माध्यम र इतिहास होलान् तर हङकङको साहित्यको उज्यालो, यसमा लाग्ने हुर्किने एकमत हुने अनेकमतले हेर्नै सबै शक्तिलाई यहाँ भेटेँ । यो एक अत्यन्तै ठूलो महत्त्वको ऐतिहासिक प्रकाशन हो । यसमा खारिएका चिन्तक अध्येता, स्रष्टा, समालोचक, समीक्षक, पत्रकारको एउटा जुझारु एलिट समूहको उपस्थिति छ । हङकङेली साहित्य के हो, यो कसरी उठेर कता जाँदैछ, यसका विशेषता के हुन्, यसले भोगेका अभाव र अप्ठ्यारा के हुन् अनि उपलब्धी के हुन् ? ती सबै कुरा यहाँ प्रस्टिएका छन् । हङकङ एक मार्जिनल समुदाय हो । वर्तमान परिस्थितिले हेर्दा कुनै पनि मर्जिनालिटि लोप हुनेछैन । किनभने विश्वमानवतावाद त्यहाँसम्म पुगेको छध्र त्यो अर्धविलयनसम्म पुग्छ तर त्यसले अस्तित्व रक्षाको लागि प्रयास गरिरहनु पर्दछ । यो कुरा स्वीकार्दै देश सुब्बा बोलेका छन्- "हामी यहाँको जातिको अहिले नभए पनि भविष्यमा मिसिने प्रजाति हौँ । जातिसँगै भाषा, लिपि, धर्मसंस्कार गाँसिन्छ । त्यो नै साहित्य हो ।" हो पनि अहिलेको साहित्य संस्कृतिको मात्र होइन, सभ्यताकै एक पाटो यस्तो मिश्रति हुँदैछ । मस्कोमा देखेँ- नयाँ पुस्ताका नानीहरू रुसी माध्यममा पढिरहेका छन्; परिणामस्वरूप एकप्रकारको हाइब्रिड संस्कृतिको स्वीकृति चेतनाले प्रवेश गर्दैछ । फेरि अङ्ग्रेजीको प्रवेशले गर्दा विश्वको नयाँ पुस्ता झन्डै झन्डै एकाम्मे हुँदैछ । मैले यहाँका साइटतिर पनि डुल्दा देखेँ- एक नवीन पुस्ताको र्सवत्र नै उदय हुँदैछ । बेलायती-नेपाली, अमेरिकी-नेपाली आफ्ना सन्तानको अङ्ग्रेजीकरण भएकामा हर्षले उचालिएका र सँगसँगै चिन्ताले सुकेका पनि छन् । यहाँ हङकङमा, मलेसियामा, कोरिया, जापान तथा अन्य नन-इङ्ग्लिस स्पिकिङ कन्ट्रिको अभिभावकको मनमा नानीहरूको शिक्षामाध्यमप्रतिको केकस्तो चिन्ता छ मलाई थाहा छैन । यद्यपि नेपाली साहित्य प्रतिष्ठान हङकङको एघारौँ उद्देश्यमा भनिएको छ- हङकङ सरकारसँग नेपाली भाषा पढ्न पाउने व्यवस्थाका लागि आवश्यक पहल गर्ने । वास्तवमा तपाईंहरूका अनेक गन्तव्यमध्ये एक यही हो । बेलायतका पुराना यति नेपाल एसोसिएसन नेपाली साहित्य विकास परिषद अनि हालैको नेपाली प्रतिभा प्रतिष्ठानले पनि यस्तै एक उद्देश्य राखेका छन् भने अनेसासले आफ्ना मूल अभियानमा एक यही राखेको छ । त्यतातिर काम गर्दैछ । यतिखेर अमेरिकी-नेपाली भाषा संस्कृतिको विस्तार हुन थालेको र बेलायतमा त्यसको तयारी हुन थालेको कुराले हामीलाई कत्रो आनन्द दिन्छ !प्रत्येक डायास्पोराले आफ्नो प्रकृतिको भाषा, साहित्य, संस्कृति- सभ्यताका सबै पक्षको स्थापना र विस्तारमा लागिपर्नु पर्ने हुन्छ । हङकङको साहित्यले पनि त्यही भन्छ । यसैले गर्दा भोलि भाषिक मान्यता भएपछि आफ्नो माध्यमका आफ्नो जलवायुमा हुर्केका पाठ्यपुस्तकदेखि यावत सामग्री तपाईहरूद्वारा उत्पादित नै प्रयोग हुने छन् । गतवर्षसिलाङको यात्रामा देखेँ- स्थानीय विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठयसामग्री उनीहरू आफैले बनाएका छन् । हङकङ पनि भोलि यसरी इन्डिपेन्डेन्ट र आत्मनिर्भर बन्ने दिन आउनेछ । त्यसैले आज हङकङले उत्पादन गरेको एकएक अक्षरको भोलि पूजा हुनेछ । यसले कथा, कविता, उपन्यास, उत्पादन गरेको छ । यसबाट निबन्ध, समालोचना, यात्रा संस्मरणलगायतका विविध विधामा आफ्ना स्रष्टा उभ्याउनु पर्दछ । यसपाली पाँचथर जाँदा पनि मोहन दुखुनसित भेट भयो- भारतीय नेपाली साहित्यको उचाइ देखाउन उनलाई भारतीय-नेपाली साहित्यका महाकवि पदवी प्रदान गरिएको थियो । पारसमणि प्रधानले नेपाली भाषाको मान्यता खोज्दा अङ्ग्रेजले दिएनन्, तर आज भारतीय-नेपाली हरेक विधामा बराबरी छ । हङकङमा, बेलायतमा, अमेरिका सम्पूर्ण नेपाली डायास्पोरामा यही नियम लागू हुनेछ । तपाईंहरू यो ठाउँमा रहँदा कतिपल्ट अन्तरात्माको पुकारले साहित्यमा लाग्नु भयो, कति जातीय पहिचानको लागि पनि । यस सन्दर्भमा भोगेन एक्लेका शब्द मननीय छन्- हङकङको दशकभन्दा लामो बसाइमा रसिलो महसूस भएको छ त केवल साहित्यले गर्दा । यसरी सृष्टिको एकान्तिकतामा पनि मानव साहित्यसँग संवाद गर्दै बाँच्ने उपाय गर्दछ । अशोक रार्इको तथ्याङ्क छ- हङकङेली डायास्पोरामा ९५ प्रतिशतभन्दा ज्यादा नेपाली आदिवासी छन् र उनीहरूको सामाजिक, वैचारिक र सांस्कृतिक आग्रहलाई साहित्यको माध्यमले वकालत गरिरहेका छन् । यसरी एकतिर व्यक्तिगत अभिव्यञ्जना र सामाजिक वाणी भएर साहित्य उभिएको छ भने अर्कातिर साहित्यको माध्यम भएर अत्यन्तै उच्च समयातीत मूल्य बोक्ने सिर्जनाहरू आउँदैछन् । यहीँको भाषासाहित्यले अभ्यास गर्दागर्दै जन्माएका राम्रा चिन्तकहरू तपाईंमाझ देखेँ मैले । डीवी पालुङ्वाको भनाइमा रहेको शास्वतताले हामीलाई अल्टिमेट र इन्फीनिट गोलतिर लान्छ- साहित्य आफैमा सुन्दर विचार र आदर्श बोकेर आएको सभ्य र सुसंस्कृत शब्द हो । साहित्यलाई स्वीकार गर्नु भनेको सभ्य शिक्षित र सुसंस्कृत समाजलाई स्वीकार्नु जस्तै हो । अथवा जीवन र जगत्लाई हेर्ने अनेकौँ प्रविधिमध्ये एक उच्च र विशिष्ट खाले माध्यम शायद साहित्य नै हुनुपर्छ । यस्तो सोच्नेहरू के हङकङेली साहित्यले जन्माएका प्रतिभा होइनन् ?त्यसैगरी डीबी पालुङवाको हृदय गम्भीरताले छाएको छ- हाम्रो भाषा, लिपि र धर्मविनाको कुनै तुक छैन । विमल र्राईको भावनामा पनि तात्कालिकभन्दा परका, जीवनको कठोर यथार्थका आस्तित्विक प्रश्न उठेका छन् । हङकङमा नेपाली जातिको अस्तित्व चिन्तनमा समर्पित प्रकारान्तरले नेपाली वाङमयको श्रीवृद्धिमा चिन्तित चन्द्र रार्इ दुमी, टंक सम्वाहाम्फे, क्रान्ति वनेम, शिव प्रधान, देश सुब्बा, शरण सुब्बा, बसन्त निरौला, जया रार्इ, विमल रार्इ, दिल पालुङवा, राम अङ्दम्बे, विमला सुच्चा रार्इहरूको चेतना परिस्कृत छ । नरेश सुनुवार, हाङयुग अज्ञात, प्रकाश केसी, प्रदीप कन्दङ्बा, भोगेन एक्ले, अशोक रार्इ, चन्द्र मादेन, हनेसाभित्रका, बाहिरका जता रहेर पनि हङकङमा नेपाली जातिको चिन्तामा समर्पितहरूप्रति हृदयले सम्मान र प्रेम अर्पण गर्दछु । कति स्रष्टाले हङकङेली साहित्यमा स्तरीयताको अभावको चिन्ता पनि गर्नु भएको सुन्दैछु । तर अहिले त्यस्तो भावनालाई स्थान दिनु हुँदैन । चरीको सवाइदेखि अनेक प्रकारका लहरी साहित्य र स्तोत्रावलीबाट सुरु भएको नेपाली साहित्यले आज एकैचोटी एउटा भिन्न भूभागबाट उपन्यास, कथा, कविताका सङ्ग्रह पाउनु सानो कुरा होइन । यतिखेर गुणात्मकभन्दा बढी यहाँका प्रयत्नलाई र सङ्ख्यालाई नै आधार मान्नु पर्छ । वाङमय विकासको उपयुक्त वातावरण नभएको यस्तो ठाउँबाट जीवनका विविध कटु यथार्थता झेल्दै साहित्यमा गरिएको लगानी प्रशंसनीय छ । बरु यहाँ हङकङेली समालोचना, नाटक, काव्य, महाकाव्य, जीवनी, बालसाहित्य र यहीँको जीवनलाई छोएर लेखिएका अरू कृति चाहिएका छन् । यतिबेला प्रत्येक डायास्पोरिक केन्द्रले सबै विधामा आफ्नो शक्ति उत्पन्न गर्नु पर्दछ । आज गरिएको कर्म प्रथम हुनेबेला छ, प्रथम कार्य गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बेला छ ।
भयवाद र आदिवासीसँग सम्बद्ध एक रचना प्रकाशनपश्चात प्रकाश केसीले आफ्ना केही आलोचनात्मक धारणा प्रस्तुत गर्नु भएको थियो । त्यसमा मेरा केही अनभिज्ञता पनि पनि थिए, तर डायास्पोरामा दुःखमा हुर्किरहेकाहरू, भौतिकबाट सांस्कृतिक आध्यात्मिक मार्गतिर समर्पितहरूको प्रथम यात्रा हो । कटु आलोचनाले त्यो कोपिलैमा ओइलाउने डर हुन्छ, यसप्रति म सधैँ सचेत छु । विश्वपरिस्थितिको नवीन प्रभावमा परेर नेपाली साहित्यले देखाएको दिशापरिवर्तनको चेष्टाबारे मैले उत्तरआधुनिक ऐना (२०६२) मा अवगत गराएको थिएँ । त्यसका नयाँ सिमाना अन्तर्गतका रचनाले त्यो बताउँछन् । नयाँ वाङमयिक केन्द्रहरूको विस्तार शीर्षक रचनाको अन्त्यमा लेखेको थिएँ अब यस्तो प्रकृतिको साहित्यलाई डायास्पोरिक साहित्यको विशेषता अनुसार अध्ययन र विश्लेषण गर्नुपर्दछ । । यसको समालोचना समेत फरकै हुन्छ । नयाँ दिशा बुझाउने प्रत्यनमा म निरन्तर लागिरहेँ । अन्तरार्ष्ट्रिय नेपाली समुदायाबट अरू प्रोत्साहन र प्रेरणा प्राप्त गरें । त्यसको दुर्इवर्ष पश्चात प्रकाशित उत्तरआधुनिक विमर्श (२०६४) मा डायास्पोरा/आप्रवासी साहित्य शीर्षक एउटा लामो खण्ड समर्पित गरेँ । त्यसैमा हङकङेली साहित्यबारे पनि केही चर्चा प्रस्तुत गरेको छु । ती दिनमा पनि ममा अध्ययनको कमी थियो । धेरै स्रोत मैले कवि भाई हाङयुगबाट लिएँ । लेखको एउटा सारांश छ- हङकङेली साहित्यकारहरू विविध रुचिका हुनाले संस्था धेरै खुल्छन्; धेरै निष्क्रिय रहन्छन् । तर त्यस्तो सारांशमा टुङ्ग्याउनु हुँदैन थियो जस्तो ठान्दछु किनकि बहुलताको समयमा हामीले जगत्को विविधतालाई प्रोत्साहित गर्नु पर्छ । धेरैबाट प्रतिस्पर्धाले, प्रतियोगिताले छानेर समयले आफै राम्रो विरुवा हुर्किन्छ । यो चिन्ताको विषय होइन । करिब एक दशकको प्रयत्न पश्चात् डायास्पोरा साहित्य त्रिभुवन विश्वविद्यालको दृष्टिमा पर्न थालेको छ । एउटा विद्यावारिधी प्रदान भइसकेको छ भने एम.ए. लेभलको शोधार्थीले यस कार्यको थालनीसमेत गरेका छन् । यस बर्ष देखि त्रि.वि. नेपाली केन्द्रीय विभागमा डायास्पोरा अध्ययन कक्ष खुल्ने र एम.फिल., पिएचडी तहको शोधार्थीको लागि एनआएन र अनेसासले छात्रवृत्ति दिने घोषणा गरेको छ, यो ऐतिहासिक निर्णयको नेपालीविश्वले स्वागत गरिरहेको छ । त्यसकारण तपाईंहरू उत्साहित भइरहनोस् । भोलि तपाईंका प्रत्येक साहित्यिक योगदानको मूल्याङ्कन र सम्मान हुनेछ । मेरो दृष्टिमा अमेरिका, बेलायत पछि हङकङ डायास्पोराको स्थान आउँछ । लेख्नुहोस्, पढ्नुहोस्, प्रिन्ट र इलेक्ट्रोनिक दुवै माध्यममा जानुहोस्, हङकङलाई साहित्यका सबै विधाले भर्नोस्- संस्थाहरू अरू बढाउनोस्, हङकङप्रति विश्वनेपालीले सदा गौरब गर्नेछन् । हङकङ अत्यन्तै सचेत स्रष्टा चिन्तक र बौद्धिक व्यक्तित्वले भरिएको लाग्यो । अर्को एउटा गौरव गर्नयोग्य प्रमाण छ- हङकङका आभाङगार्डहरू । यसको सन्दर्भमा म तीन जनाको नाम लिन चाहन्छु- हाङयुग अज्ञात, देश सुब्बा र हालैकी दीपा रार्इ । त्यसो त हाङयुगले सिर्जनशील साहित्य समाजको स्थापना र विस्तार नेपालमै गरेर आएका हुन्, तर त्यस व्यानरसबाट यहाँको केन्द्र विस्तारमा अत्यन्तै ठूलो योगदान पुर्‍याएका छन् । हङकङकै माटोमा सिर्जनालाई आकार दिँदै आएका देश सुब्बा एक अविष्कारक चेतना भएका चिन्तक स्रष्टा हुन् । उनको भयवाद नेपाली साहित्यिक आन्दोलनमा एक महत्वपूर्ण विषय भएर आएको छ । उनमा पनि गहिरो दर्शन चेतना छ । दर्शनबेगरको सिर्जना दिशाहीन शब्दजङ्गल मात्र हुन्छ । करिब तीन दर्जन साहित्यिक आन्दोलनमा भारतभूमीबाट दुर्इवटा जन्मिए समुद्रपारबाट सोचिएको भयवाद पहिलो हो ।
नेपाली साहित्यको अमर इतिहासमा देश कहिल्यै नमर्ने गरी रहने छन् । सृजनशीलताको पनि सम्पोषण त यहीँबाट हुँदैछ भने हालै मात्र प्रकाशमा आएको दीपा रार्इको अर्धवृत्त, मोतीराम भट्टको मोतीमण्डलीदेखि आज सम्मको इतिहासमा जन्मेको पहिलो नारी स्रष्टाद्वारा आविष्कृत एक नवीनतम विचार हो । यो कुरा पनि नेपाली इतिहासमा अमर भै रहनेछ । यसबाट हामीलाई नेपाली साहित्य आज कहाँ पुग्यो, यसले कत्रा फड्का नाघ्दै छ यो थाहा हुनेछ यस्ता उपलब्धी सम्झिँदा हृदय गौरवले भरिन्छ । हाङयुग, देश, दीपा तीनै विचारक असल दर्जाका मौलिक स्रष्टा पनि हुन् । अन्त्यमा, यी सबैभन्दा फरक, कतै कुनै फलको आशा नगरी केवल त्याग र तपस्याको मात्रै भावले नेपाली साहित्यको सेवामा लागिरहने टंक सम्बाहाम्फेप्रतिको स्नेह, प्रेम र प्रसंशाभावले यो हृदय भरिएको छ । आज खुसी, आनन्द र हर्षको अपार तरङ्ग उठेको बेला तपाईंहरू सम्पूर्ण हङकङे नेपालीप्रति शिर निहुराउँदै म यहीँ रोकिन्छु । धन्यवाद ।
(नेपाली साहित्य प्रतिष्ठान हङकङको दसौँ वार्षिकोत्सवको उपलक्ष्यमा १ फागुन २०६६ (१३ फेव्रुवरी २०१०) को दिन हङकङमा प्रस्तुत विचारपत्र)५ माघ २०६६ कीर्तिपुर, काठमाडौँ, नेपाल

Category: 0 comments

नेपाली साहित्य प्रतिष्ठान, हङकङको स्थापना र उद्देश्यहरु

टंक सम्वाहाम्फे
भूमिका
नेपालीहरु खासगरि पहिलो विश्वयुद्ध सुरुआतसँगै सात समुद्रपारी लाहुरे भएर बैदेशिक रोजगारको लागि बिदेसीने क्रमको थालनी भएको हो र त्यो क्रम हाल पनि निरन्तर नैजारी छ । लाहुरे बनेर सात समुद्रपारी जाने क्रम भन्दा अगाडि केहि पैशा कमाउँने हेतुले वैदेशिक रोजगारको लागि तिब्बतको ल्हासा हुँदै भुटान र भारतको आसाम,मिजराम,भाक्सु आदि ठाउँहरुमा गएर फर्किएको कुरा तपाई हामीले जान्दै सुन्दै आएको कुरा हो । यसरी वैदेशिक रोजगारीमा लाग्दा कतिपय मानिसहरु बिभिन्न कारणले आफ्नो थात्थलो छोडेर उत्तै मुङलानमा घरजम गरि बस्नेको सँख्या पनि उल्लेख्य रुपले बढ्दै गएको कुरा जान्दै बुझदै आएको कुरा हो । त्यसवेला यातायात र शिक्षाको अभावले गर्दा प्राय समुद्रपारीका देशहरुमा बसाईसराई गरेर मुङलान पस्ने चलन कमी नै थियो । समुद्रपारीका देशहरुमा जान र बस्नको लागि विभिन्न प्रकारको ज्ञान र सरकारी प्रकृया पनि पुरा गर्नु पर्ने भएकोले धेरै नेपालीले त्यसवेला त्यतातिरको यात्रामा पाईला बढाएनन् । तत्क्षण समुद्रपारीका कुरा जान्ने र बुझने भने कै लडाईमा परेर निभृत भएका लाहुरेहरु हुन् । र समुद्रपारीको देश जान त्यति सजिलो पनि थिएन । आसाम,भुटान,ल्हासा तिर जानको लागि सरकारी प्रकृया अपनाउनु नपर्ने भएकोले धेरै नेपालीहरु ती ठाउँहरुमा बसाई सराई गरेर बसेको पाइन्छ । अंग्रेजहरुले भारत छोडेर जाँदा पहिले नेपाली भूभागहरु कब्जा गरेका सबै भारतीय भूमि बन्न पुगे जस्तै सिक्किम,दार्जिलिङ ,गढुवाल आदि । र त्यहाँ बसोबास गर्ने नेपालीहरु पनि नेपाली भाषी भारतीय भए । यसरी इतिहासलाई पल्टाएर हेर्दा नेपालीहरु रोजगारी तथा अन्य कारणले बिदेशी भूमिमा सदियौ देखि जुन जुन देशमा गए त्यहाँ नागरिक सो सरह तथा अन्य अवस्थामा बस्दै आएका प्रमाण थुप्रै छन् । यसरी नेपालीहरु आफ्नो देश छोडेर बिदेश जादा उनीहरु आफ्नो सिङ्गो जीन्दगीमा मात्र लगेर गएनन् । उनीहरुले आफुसँगै नेपाली भाषा सहित्य,संस्कृति,संस्कार र भेष भुषा आदि सबै लिएर गए । जुनै देशमा गए पनि त्यहाँका बासिन्दाहरुसँग भाषा लगायत सम्पूर्ण कुरा नमिल्ने भएकोले आफ्नै देशको भाषा लगायतका कुराहरु प्रचलनमा ल्याउँनु पर्ने हुन्छ । त्यहि नमिल्नुले आफु जन्मेको देशको सम्पूर्णकुरा आवश्यकता पर्दछ । आफ्नै पन र मनमा रम्नको लागि आफुले जन्मकाल देखि जानेको भाषा,संस्कृति आदिको जगेर्ना गर्नु पर्ने हुन्छ । किन कि नेपालीले जुनैसुकै देशको नागरिकता किन ग्रहण नगरोस् आखिर उ नेपाली नै हो । दिनरात उसले अंग्रेजीमा बोले पनि उसको भित्री हृदयले नेपाली नै बोली रहेको हुन्छ । यसरी बिदेशी भूमिमा गएर उल्लेखनिय रुपले नेपाली भाषा साहित्यको विकाश भएको सिक्किम र दार्जिलिङलाई लिन सकिन्छ । त्यहाँ बसोबास गर्ने नेपालीले भाषा साहित्यको क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि त्यतिकै विकाश गरेकाछन् । युग र समयको परिवर्तनसँगै हाल आएर विश्वको अधिकांस देशमा सरकारी प्रकृयागत रुपले नेपालीहरुको बसाई सराईगरेर बसोबास गरिरहेकाछन् । जहाँ जहाँ नेपालीहरु पुगेर बसेकाछन् त्यहाँ त्यहाँ नेपाली भाषा साहित्य,संस्कृति विकासको लागि अगाडि बढेकाछन् । यसै अन्तर्गत हङकङ लगायत विश्वको बिभिन्न देशमा नेपाली साहित्य जगेर्ना र विकाशको लागि अन्तर्राष्ट्रिय सञ्जाल समेत निर्माण भैसकेको छ । प्रविधीको विकाशले संसार नै सानो साईवर गाउँको रुपमा परिणत भैरहेको बेला जुनसुकै देशमा रहेर पनि आफ्नो भाषा साहित्य लगायत अन्य क्रियाकलाप गर्न सकिने स्थिति बनेको छ । बिदेशमा बसेर पनि नेपालीहरुले नेपाललाई समृद्ध बनाउँन लागि परेकाछन् । कुनै पनि ब्यक्ति कुन देशको वा क्षेत्रको,जातिको भनेर जान्नको लागि उसको भाषाले चिनारी गराउँदछ । मानिसको अनुहार हेरेर कसैले पनि यो देशको मान्छे भनेर चिन्न सकिंदैन । त्यसैले पनि हरेक मानिसलाई आफ्नै देशको भाषा साहित्यले ठुलो प्रभाव पार्दछ । पछिल्ला पीडीहरुमा नेपाली भाषा साहित्य,संस्कृति,सस्कार र भेषभुस्सा जिवन्त राख्नको लागि आजभोलि नेपाली बसोबास गर्ने देशहरुमा साहित्य लगायत अन्य संघसंस्थाहरु खुलेकाछन् । त्यहि हेतुले हङकङमा सबै भन्दा पहिले नेपाली साहित्य प्रतिष्ठान स्थापना भएको थियो त्यसपछि अन्य साहित्यिक संघसंस्थाहरु स्थापना भै रहेकाछन् । यो नेपाल र नेपालीको लागि गौरवको विषयवस्तु हो ।
नेपाली साहित्य प्रतिष्ठान, हङकङको स्थापना
बीसौं शताब्दीको अन्त्य र एक्काइसौ सताब्दीको सुरुआत संगै हङकङमा आई स्थाई तथा अस्थाई वसोवास गर्दै आएका नेपालीहरुका माझ नेपाली साहित्यको श्रीवृद्धि गर्नका साथै हङकङमा छरिएर रहेका साहित्य प्रवाहलाई एकमुष्ट पारी अगाडि वढाउने र विदेशमा पनि नेपाली साहित्यको पहिचान गराउने दृष्टिकोण राखी संयोजक कवि तथा गीतकार टंक सम्वाहाम्फेको अग्रपहलमा सन २००० मार्च ५ तारीखका दिन कवि कथाकार , उपन्यासकार , गीतकार र पत्रकारहरुका माझ “नेपाली साहित्य प्रतिष्ठान, हङकङको स्थापना गरिएको हो । हङकङका जातीय , क्षेत्रिय , सामाजिक , तथा राजनैतिक सस्थाहरुवाट एकदमै पृथक रहेर साझा नेपाली साहित्यिक विचार वोकेर “नेपाली साहित्य प्रतिष्ठान, हङकङ प्रत्येक नेपालीको ढुकढुकीमा छाई नै रहेकोछ । मूलत हङकङमा रहेका साहित्यिक ब्यक्तित्वहरुलाई हातेमालो गराई पाठकहरुको अगाडि चिनाउने र नेपाली हुनुको गौरवको आभास सवैलाई गराउने साथै संस्थामा आवद्ध भएर आफु लेख्ने र अरुलाई नेपाली भाषा साहित्य लेख्न प्रोत्साहन गराउनु प्रमुख कार्य हो । कैयौ रात जागेर तयार पारिएको पाण्डुलिपी छपाउनको निमित्त हङकङ तथा नेपालमा रहनु हुने आर्थिक विपन्नताको कारणले साझा प्रकाशन , नेपाल प्रज्ञा प्रतिष्ठान र विभिन्न प्रकाशन सस्थाको दैलोमा धाईरहेका लेखकहरुका कृतिहरुलाई निरन्तर प्रकाशन गर्दै लैजाने उदेश्य पनि प्रतिष्ठानले बोकेको छ ।
प्रतिष्ठान, हङकङको पहिलो कार्य समितिको नामावली
अध्यक्ष - राई चन्द्र दुमी
उपाध्यक्ष - टंक सम्वाहाम्फे
सचिव - क्रान्ति वनेम
कोषाध्यक्ष - शिव प्रधान
सदस्य - देश सुब्बा
सदस्य - शरण सुब्बा
सदस्य - बषन्त निरौला
प्रतिष्ठान, हङकङको दोस्रो कार्य समितिको नामावली
अध्यक्ष - शरण सब्बा
उपाध्यक्ष - टंक सम्वाहाम्फे
सचिव - क्रान्ति वनेम
कोषाध्यक्ष - बषन्त निरौला
सदस्य - देश सुब्बा
सदस्य -राई चन्द्र दुमी
सदस्य - शिव प्रधान
सदस्य - जया राई
सदस्य - बिमल राई
सदस्य - राम आङदेम्बे
प्रतिष्ठान, हङकङको तेस्रो कार्य समितिको नामावली
अध्यक्ष - टंक सम्वाहाम्फे
उपाध्यक्ष - जया राई
सचिव - देश सुब्बा
कोषाध्यक्ष - बषन्त निरौला
सदस्य - सुरेन लिम्बु
सदस्य - शिव प्रधान
सदस्य - बिमला सुच्चा राई
सदस्य - बिमल राई
सदस्य - दीप निरीह
सदस्य - दिल पालुङवा
सदस्य - राम आङदेम्बे
वर्तमान कार्य समितिका सदस्यहरु
अध्यक्ष - टंक सम्वाहाम्फे
सदस्य - दिल पालुङवा
सदस्य - डि.बि.पालुङवा
सदस्य - सुरेन लिम्बु
सदस्य - बषन्त निरौला
सदस्य - देश सुब्बा
सदस्य - बिमल राई
सदस्य - बिमला सुच्चा राई
संस्थाका उद्देश्यहरु
१.हङकङमा छरिएर रहेको नेपाली साहित्य र लेखनलाई एकमुष्ट पार्ने
२.हङकङमा लेखिएका साहित्यलाई साहित्यिक पत्रिका मार्फत प्रकाशन तथा प्रवर्द्ध न गर्ने
३.संस्थमा आवद्ध भएर नेपाली साहित्य आफु लेख्ने र अरुलाई लेख्न प्रेरीत गराउँने
४.नेपाल र हङकङ बिचको सोझो साहित्यिक सम्पर्क निर्माण गर्ने
५.साहित्य सम्बन्धि विभिन्न नयाँ सुचनाहरु नेपाली लेखक तथा पाठकहरुलाई प्रदान गर्ने
६.विभिन्न साहित्यिक गोष्ठीहरुको आयोजना गर्ने
७.नेपाली साहित्यलाई हङकङमा चिनाउँनको लागि हङकङका स्थानिय साहित्यिक प्रतिष्ठानहरुसँग सम्पर्क सुत्र बढाउँने
८.लेखकहरुलाई प्रोत्साहन गर्नको निम्ति पुरस्कारको स्थापना गर्ने
९.नयाँ पीडीमा नेपाली भाषा साहित्यको प्रभाव बढाउँने
१०.हङकङ लगायत नेपालमा रहेका आर्थिक स्थिति कमजोर भएका लेखक स्रष्टाहरुको कृति प्रकाशन गर्ने
११.हङकङ सरकारसँग नेपाली भाषा पढ्न पाउँने ब्यवस्थाको लागि आवश्यक पहल गर्ने
संस्थाका प्रकाशनहरु
प्रकाशन तथा संस्था सञ्चालनको लागि स्थापनाकालमा प्रत्येक कार्यकारीणी सदस्यहरुबाट हङकङ डलर २००० हजारका दरले कोष स्थापना गरिएको थियो । सोही कोषबाट अविराम मासीक नेपाली साहित्य प्रतिष्ठान हङकङ मार्फत साहित्यिक पत्रिकाको रुपमा प्रकाशन गर्दै लैजाने योजना अनुसार अठारौं अंक सम्म निरन्तर प्रकाशन गरेको थियो । तर प्राविधिक कारणले गर्दा प्रकाशन बन्द गरियो । बिभिन्न बाषिर्कोत्सवमा निम्न पुस्तकहरु नेपाली साहित्य प्रतिष्ठान हङकङद्वारा प्रकाशित गरिएकाछन् ।
छरिएको सिदूर ( कथा संग्रह )
लेखक - शिव प्रधान
सस्करण - २०५७
युद्ध भित्र उभिएका बुद्धहरु ( कविता संग्रह )
लेखक - टंक सम्वाहाम्फे
सस्करण - २०५८
त्यान्द्रो ( उपन्यास )
लेखक - दिल वहादुर पालुङ्वा
सस्करण - २०५९
यथार्थका चोइटाहरु ( संयुक्त कथा संग्रह )
लेखक - हङकङका कथाकारहरु
सस्करण - २०६०
समय अभाव र प्राविधिक समस्याका कारण अन्य कृतिहरु हालै प्रकाशन गरेको छैन । तर युग सुहाउँदो साईवर प्रकाशन भने विगत २ बर्षदेखि निरन्तर ब्लगसाईट मार्फत साहित्यिक रचनाहरु हरेक दिन प्रकाशन गर्दै आएको छ । छापामा भन्दा हाल साहित्यकार र साहित्यिक पाठकहरु साईवरमा बढी केन्द्रित भएकोले नेपाली साहित्य प्रतिष्ठान हङकङले पनि आफ्नो ध्यान साईवर प्रकाशन तिर केन्द्रित गराएको हो ।
संस्थाद्वारा सञ्चालित साइवर प्रकाशनहरु
१.बिगत २ बर्षदेखि नेपाली साहित्य प्रतिष्ठान हङकङले साहित्यिक गतिविधि सञ्चालन गर्न निम्न ब्लग ठेगानामा निरन्तर नेपाल लगायत बिश्वभरि छरिएर रहेका नेपाली साहित्यकारहरुको लेख रचनाहरु हरेक दिन प्रकाशित गर्दै आएको छ । यो ठेगाना नेपाली लेखक तथा पाठकहरुलाई धेरै मात्रमा जानकारी छ । उक्त ब्लगको ठेगाना निम्न प्रकार छ ।
२.स्रष्टाहरुको सम्मान र बिश्वब्यापी छरिएर रहेका नेपालीहरुलाई जानकारी दिनको लागि बिगत २ बर्षदेखि नेपाली साहित्य प्रतिष्ठान हङकङले स्रष्टाहरुको वैयक्तिक बिवरण पनि प्रकाशन गर्दै आएको छ । र यसलाई नेपाली साहित्य प्रतिष्ठान हङकङले नेपाली स्रष्टाहरुको वैयक्तिक बिवरण पुस्तकालयको रुपमा बिकसीत गरेको छ । हाल यो ब्लग अर्न्तर्गत नेपाल लगायत बिश्वभरि छरिएर रहेका ८०० जना नेपाली साहित्यकारहरुको वैयक्तिक बिवरण संग्रह गरिसकिएको छ भने स्रष्टाहरुको तस्विर संग्रह पनि हेर्न सकिने छ । उक्त ब्लगको ठेगाना निम्न प्रकार छ ।
http://www.srasta.blogspot.com/
३.नेपाली साहित्य प्रतिष्ठान हङकङको आफ्नै गतिविधि सञ्चालन गर्न तयार गरिएको ब्लग हो । यस ब्लगमा हाल सम्म भएका कार्यक्रमका तस्विर संग्रहहरु राखिएकाछन् । साथै अन्य गतिविधिहरु क्रमश राख्दै लगीने छ । उक्त ब्लगको ठेगाना निम्न प्रकार छ ।
संस्थाको बाषिर्क गतिविधि
नेपाली साहित्य प्रतिष्ठान हङकङको स्थापना काल देखि हरेक बर्ष प्रतिस्पर्धात्मक कविता गोष्ठी सञ्चालन गर्दै आएको थियो तर विगत केहि बर्षदेखि प्राविधिक कारणले गर्दा प्रतिस्पर्धात्मक कविता गोष्ठी भने बन्द गरिएको छ । तर कविता गोष्ठी भने निरन्तर गरिंदै आएको छ । प्रतिस्पर्धात्मक कविता गोष्ठीमा बिभिन्न बाषिर्कोत्सवमा प्रथम हुनुहुने स्रष्टाहरुको नामावलि निम्न प्रकार छ ।
१.गीता सन्ताप खजुम
२.दीप निरीह
३.सुरेन लिम्वु
४.भवानी श्रेष्ठ
५.राजाराम शाही
संस्थाका आगमी कार्यक्रमहरु
नेपाली साहित्य प्रतिष्ठान हङकङ हङकङको पहिलो औपचारीक साहित्यिक संस्था भएकोले हाल दशौ बर्षको यात्रा तय गरिसकेको छ । हङकङमा नेपाली साहित्यको नयाँ जग बसाल्दै अगाडि बढ्नु परेकोले निश्चय नै यसले गति लिन धेरै चुनौतिपूर्ण कामहरु पुरा गर्दै आएको छ । संस्थामा आवद्ध भएर आफैले साहित्यिक कृतिहरु प्रकाशन गर्दै अरुलाई पनि साहित्य सिर्जना गर्न प्रोत्साहन गर्ने कार्य पनि गरि नै रहेको छ । अहिले आएर हङकङमा नेपाली साहित्यको स्थिति उर्वर भएर गएको छ । किनकी नेपाली साहित्य प्रतिष्ठान हङकङ बाहेक अन्य साहित्यिक संघसंस्थाहरु पनि स्थापना भएकाछन् । जस्ले गर्दा हङकङमा नेपाली साहित्य झनै मौलाएर गएको देखिएको छ । साथै नेपालबाट पनि नयाँ साहित्यिक सर्जकहरुको आगमन पनि भैरहेको छ । तसर्थ नेपाली साहित्य प्रतिष्ठान हङकङले अन्य साहित्यिक संघसंस्थाहरुसँग साहित्य कर्ममा सहकार्य गर्दै जानेछ । हङकङमा रहेका नेपालीहरुमा साहित्यिक चेतना अभिवृद्धि गर्दै र विकाशको लागि अन्य पूर्वाधारहरु पहिल्याउँदै नेपाली साहित्य प्रतिष्ठान हङकङले आफ्नो लक्ष्य अनुरुप कार्य गर्दै अगाडि बढ्दै जानेछ ।
संस्थाको वैधानिकता
नेपाली साहित्य प्रतिष्ठान हङकङ सन २००० मार्च ५ तारिखका दिन स्थापना भए पनि हङकङ सरकारको सोसीअल अडिअन्स अर्न्तर्गत सन् २००१ मा मात्र बैधानिक रुपले मान्यता पायो । त्यसपछि हङकङको नेपाली समाजमा साहित्यिक गतिविधि गर्दै नयाँ स्रष्टाहरुलाई साहित्य लेख्न उत्प्रेरण दिर्दै आएको छ । हङकङ बसोबास गर्ने नेपाली समाजलाई सर्वविदित्तै भएको कुरा हो ।
संस्था हङकङ नेपाली प्रथम पदकद्वारा सम्मानित
नेपाली साहित्य प्रतिष्ठान हङकङले हङकङको नेपाली समाजमा दश बर्षअगाडि देखि निरन्तर साहित्य सेवामा समर्पित भएको छ । संस्थासंग सम्वद्ध सदस्यहरुले आफु लेख्ने र पढ्ने साथै अरुलाई पनि लेख्न र पढ्न उत्साहित गर्दै आएको छन् । सोहि सेवाको सहि मूल्याङ्कन गरि नेपाली महासंघ हङकङद्वारा सन् २००८ डिसेम्वर ३१ तारिखका दिन नेपाली प्रथम पदकद्वारा नेपाली साहित्य प्रतिष्ठान हङकङलाई सम्मानित गरियो । यो नेपाली साहित्यकर्मी तथा पाठकहरुको लागि गौरब कै विषयवस्तु बनेको छ ।
हङकङमा नेपाली साहित्य,कला र संगीत उत्थानका लागि खुलेका अन्य संघसंस्थाहरु
नेपाली साहित्य प्रतिष्ठान हङकङको स्थापना आधा दशक विति सके पछि मात्र अन्य साहित्यिक संघसंस्थाहरु हङकङमा स्थापना भएकाछन् । संघसस्था लगायत साहित्यिक वेबसाईट र ब्लगसाईटहरु पनि हालसालै आएर स्थापना भएका हुन । त्यसैले हङकङमा साहित्यिक कार्यक्रमहरु बाक्लै रुपले हुन थालेकाछन् । हङकङमा साहित्य,कला र संगीत उत्थान कै लागि स्थापना भएका संघसंस्थाको नामावलि निम्न प्रकार छन् ।
१.सिर्जनशील साहित्य समाज,हङकङ
२.जनजाति साहित्य समूह,हङकङ
३.आदिवासी गीतकार समाज,हङकङ
४.नेपाली कलामन्दिर,हङकङ
५.नेपाली कलाकार संघ,हङकङ
६.हिमालय टोन्स म्यूजिक एकेडेमी,हङकङ
७.किरात धर्म तथा साहित्य उत्थान संघ,हङकङ
८.नेपाली साहित्य परिषद, हङकङ
९.अन्तर्राष्ट्रिय साहित्य समाज, हङकङ च्याप्टर
ने.प्र.प्र.का उपकुलपति मोहन कोइरालाको हङकङ आगमन
हङकङमा रहेका साहित्यकाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानसँग सोझो सम्पर्कमा रहने पुलको निर्माण साथै साहित्यिक बिचार आदान प्रदान गर्नको लागि नेपाली साहित्य प्रतिष्ठान,हङकङले आफ्नो तेस्रो बाषिर्कोत्सवको अवशर पारी तात्कालिन ने.प्र.प्र उपकुलपति मोहन कोईराला र नेपाल टेलिभिजनका महाप्रवन्धक दुर्गानाथ शर्मालाई हङकङमा निमन्त्रणा गरी पुस्तक लोकार्पण, वृहत प्रतिस्पर्धात्मक कविता गोष्ठी साथै साहित्यिक अन्तक्रिर्या कार्यक्रमको आयोजना समेत गरेको थियो । नेपालका वरिष्ठ कवि मोहन कोइरालाको हङकङ आगमन पछि नेपालमा नेपाली साहित्य प्रतिष्ठान,हङकङको कार्यप्रति ठूलो चर्चापरिचर्चा भएको थियो भने नेपाल टेलिभिजनमा समेत हङकङको साहित्य र स्रष्टाका बारे छुट्टै आधा घण्टाको कार्यक्रम प्रशारण गरेको थियो । नयाँ तथा पुराना लेखकहरुले ने.प्र.प्र उपकुलपति मोहन कोईरालासँगको भेटघाट पछि हङकङका साहित्यकारहरुले ठुलो राहत मिलेको महशुस समेत गरेका थिए । र यो नेपाली साहित्य प्रतिष्ठान,हङकङको एक ऐतिहासीक कार्य पनि थियो ।
साहित्यिक वेबसाईट र ब्लगसाईटहरु
अन्तमा
नेपाली साहित्य प्रतिष्ठान हङकङ हङकङको पहिलो साहित्यिक संस्थाको हैसियतले अथक रुपमा साहित्यिक कर्म र कर्तब्य पुरा गर्दै आएको छ । जस्ले गर्दा आज हङकङ नेपाली साहित्यको नयाँ छुट्टै केन्द्र बन्न पुगेको छ । यर्सथ नेपाल लगायत बिश्वका बिभिन्न देशमा छरिएर रहेका नेपाली साहित्यकारहरुले हङकङको साहित्यिक अवस्थालाई बिशेष प्रकारले हेर्न थालेका छन् । किनकी हङकङबाट नेपाली साहित्यको लेखन तथा प्रकाशन र साहित्यिक गतिविधि उल्लेखनिय रुपले भैरहेको छ । हङकङमा साहित्य मात्र नभएर अन्य विधामा पनि त्यसरी नै विकाश भएको छ । हङकङको ब्यस्त समयलाई चिर्दै यहाँका स्रष्टाहरुले साहित्य लेखन र पठन गर्नुपर्ने भएकोले नेपाली परिवेश भन्दा यहाँ साहित्य निर्माण गर्न धेरै जटिल छ । तर पनि हङकङ बसोबास गर्नुहुने प्रतिवद्ध साहित्यकर्मीहरुले ती जटिलतालाई वास्तै नगरी साहित्यको श्रीवृद्ध गर्न लागि परेका छन् । अबका दिनहरुमा साहित्य एउटा केन्द्र हुने छैन बिश्व भरि जहाँ जहाँ नेपालीहरु बसोबास गर्दछन् त्यहाँ त्यहाँ साहित्यको नयाँ केन्द्र स्थापना हुनेछ र धमाधम नयाँ केन्द्र स्थापना भैरहेकाछन् । र्साईवर संस्कृतिले साहित्यको केन्द्र ठानिएको काठमाडौलाई भत्काई सकेको छ । आज बिश्वभरि नेपाली साहित्यका नयाँ केन्द्रहरु भैसकेका छन् । किनकी आजका सिर्जनाहरु छापामा ल्याउँन क्षमता भए चाहेकै बेला प्रकाशन गर्न सकिने दिनहरु आएकाछन् । अनेकौ प्रकारको सञ्चार माध्यमले साहित्यको विकाशमा टेवा पुर्‍याई रहेको छ । लेखकहरु अहिले पहिलेको जस्तै प्रकाशन संस्था धाईरहने कार्यबाट मुक्त भएकाछन् । साईवर सञ्जालले गर्दा ब्यक्तिगत वेबसाईट र ब्लगसाईटहरु खुलेकाछन् । जहाँ लेखकले चाहेको बखत आफ्नो सिर्जना क्षणभर मै प्रकाशन गर्न सक्दछ । र पाठकहरुले छापामा लेखकहरुको सिर्जना हेर्नुको सट्टा ती लेखकहरुको वेब र ब्लगसाईट पुग्दछन् । यसै क्रममा नेपाली साहित्य प्रतिष्ठान हङकङले हङकङको नेपाली जनमानसमा साहित्य लेखन र पठनको अभिवृद्धि गर्ने कार्यमा प्रतिवद्धताका साथ अगाडि बढीरहने छ ।

Category: 0 comments